खोजखबर
गोरखा, चैत १३ गते ।
अजिरकोट गाउँपालिकाका गुरुङ बस्तीहरुमा एउटा अनौठो संस्कार छ । त्यहाँका मानिस असिना परेको २४ घण्टा सम्पूर्ण कामकाज बारेर प्रकृतिको पुजा गर्छन् ।
असिना परेपछि कटुवाल कराउन लगाइन्छ । कटुवालले स्थानीय भाषामा अबको २४ घण्टासम्म खेतवारीमा नजानु, ढिकीजातो बार्नु, मिल मिसिने नचाउलनु, गोरु बार्नु, नुबाईधुबाई नगर्नु, मकै नभुट्नु भनि घर बाहिरका सबै काम नगर्न स्थानीयलाई उर्दी जारी गर्छन । असिना परेको दिन सबै मानिसहरु घर भित्रै बस्छन । अत्यावश्यक काम बाहेक बाहिर निस्किदैनन् । यदी कसैले उक्त निर्णय नमाने उसलाई बुढापाका बसेर जरिबाना लगाइन्छ । ‘त्यो दिनमा हामीले साग सिस्नु टिप्ने, घरमा मकै भुट्ने समेत काम गर्नुहुँदैन,’ अजिरकोट–२ ओलाङकी सुकमायाँ गुरुङले भनिन्, ‘भनेको मानेन भने गाउँसमाज बस्छ । त्यसलाई जरिबाना तिराइन्छ । त्यहो पैसा कोषमा राखेर अन्तिममा भोज खाने चलन छ ।’
फागुन महिनाबाट सुरु हुने यो संस्कार, चैत र बैशाखसम्म कायम हुन्छ । यी महिनामा एक÷एक पटक असिना बार्ने त्यहाँको प्रचलन छ । असिना बारेसँगै फागुनको पहिलो, चैतको दोश्रो र बैशाखको अन्तिम मंगलबार स्थानीयहरुले प्रकृतिको पुजा गर्छन । जंगलबाट ल्याएको भलायाको काठ, बादुलपातेको लहरामा बाँधेर, पैयूँको पात समेत सिउरिएर, त्यसमा हाडीको कालोमोसा दली तोरण जस्तै बनाइन्छ । त्यसलाई बस्ती भन्दा केही पर, खोस्सा पारी मुख्य बाटो माथि पर्ने गरि टाँगिन्छ । स्थानीय सबैले आ–आफ्नो घरमा पनि उक्त तोरण टाँग्छन । गाउँका लामा, पुरहित, बुढापाक, युवा युवती सबै भेला भएर देवी देउता, पितृको आराधना गर्छन । त्यस पछि उक्त गाउँमा असिना पानीले दुखः नदिने जनविश्वास छ । ‘अरु ठाउँमा असिनाले कति धेरै दिन्छ । हाम्रो गाउँमा अहिलेसम्म असिनाले केही क्षति गरेको छैन्’ अजिरकोट–३ भच्चेकका धनबहादुर गुरुङले भने, ‘बाबु बाजेको पाला देखिको चलन हो । हामीलाई त यसमा विश्वास छ ।’
खेतिपाती छिप्पिन नपाउँदै असिनाको उपचार गरिएकाले क्षति व्यहोर्नु नपरेको उहाँ बताउनुहुन्छ । अजिरकोट गाउँपालिकाको सिस्ने, ओलाङ, खिम्पु, घ्याच्चोक, भच्चेक र सिरानचोक गाउँपालिकाको अधिकाशं गुरुङ वस्तीहरुमा वर्षौ देखि उक्त प्रचलन कायम छ । ‘यो हाम्रो संस्कार हो । वर्षौं देखि चल्दै आएको छ,’ अजिरकोट गाउँपालिकाकी उपाध्यक्ष चन्द्रमायाँ गुरुङले भनिन्, ‘प्रकृतिका पुजारी हामी गुरुङ समूदायको एउटा जिवन्त संस्कार मध्ये यो पनि एक हो ।’
तीन पटक असिना बारेपछि बैशाखको अन्तिम मंगलबार गाउँका सबै स्थानीय भेला भएर सामुहिक भोज भतेर समेत गर्छन । त्यसपछि वर्खायामको खेतिपाती गर्ने क्रम सुरु हुन्छ ।
साभार ः गोरखापत्र दैनिक