खोज खबर
गोरखा, चैत १६ गते, आइतबार ।

स्थानीयले लकडाउनको निर्णय पूर्ण रुपले पालन नगरेपछि सिरानचोक गाउँपालिका फरक रुपमा प्रस्तुत हुने भएको छ ।
आइतबार बसेको स्थानीय विपद् व्यस्थापन समितिको बैठकले हरेक गाउँबस्तीमा समूह बनाएर सरकारको निर्णय पालना गरे नगरेको अनुगमन गराउने निर्णय गरेको हो । ‘सिरानचोकबासी आदरणीय बुबा आमा दाजुभाई दिदीबहिनीले लकडाउन हाम्रै लागि हो भनेर बुझिदिनु भएन,’ गाउँपालिका अध्यक्ष राजु गुरुङले भने,‘गाउँगाउँमा तास खेल्ने, खसी काटेर खाने, घुमघाम गर्ने क्रम बढि पाइयो, यो बेलामा पवित्र धार्मिक स्थल श्रीनाथ मण्डलीमा पनि हुलहुल मानिस घुम्न गएका छन् । यसलाई रोक्न हामीले बिशेष पहल गरेका छौं ।’ स्थानीय दुई महिला र दुई पुरुष रहेको चार सदस्सिय समिति निर्माण गरिएको छ । उक्त समितिले आफ्नो गाउँटोलका नागरिकलाई सम्झाईबुझाई गर्ने, अटेर गरे वडा कार्यालयलाई जानकारी गराउने व्यवस्था मिलाइएको छ । वडा कार्यालय र गाउँपालिकासँग समन्वय गरी नजिकैको प्रहरी चौकीले आवश्यक कारवाही गर्न अनुरोध गरिएको छ । एउटा समितिलाई कम्तीमा १० घर देखि बढिमा ४०÷५० घर सम्म बस्ती हेरेर जिम्मेवारी तोकिएको छ । उक्त समितिले आफ्नो जिम्मा रहेका घरहरुको लगत संकलन समेत गर्नेछ । आम नागरिकको अबस्था, विशेषबाट आएकाहरुको बसाई, राहत सहयोग आवश्यक भए नभएको समेत तथ्याङ्क संकलन गरी वडा कार्यालयमा बुझाउने व्यवस्था मिलाइएको छ । वडा कार्यालयको रिर्पोटका आधारमा गाउँपालिकाले आवश्यक निर्णय र व्यवस्था गर्ने अध्यक्ष गुरुङले बताए । ‘यसले दुई वटा काम हुन्छ, जनचेतना सँगै गाउँको अबस्था कस्तो छ भन्ने पनि थाहा हुने भयो,‘उनले भने,‘राहत तथा सहयोग आवश्यक भए नभएको बारे पनि पहिचान हुन्छ ।’
हरेक वडाका बस्ती बस्तीमा माइकिङ गरेर सूचना दिदा समेत अटेर गरेपछि उक्त निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।