खोज खबर
गोरखा, चैत १७ गते, सोमबार ।
सिरानचोक गाउँपालिका–४ छोप्राकले कोरोना संक्रमण रोक्न १० वटा प्रतिकार्य समिति बनाएको छ । वडा भित्रका सम्पूर्ण बस्तीलाई समेटेर बनाइएको समितिमा दुई महिला र दुई पूरुष गरी चार जना सदस्य रहेका छन् ।
लकडाउनको पूर्ण रुपले पालना नभएको गुनासो आएपछि गाउँपालिकाले गरेको निर्णय अनुसार सोमबार १० वटा प्रतिकार्य समिति निर्माण गरिएको हो । ‘समितिले आफ्नो क्षेत्र भित्र रहेका घरधुरीको लगत संकलन गर्छ । समूहको संयोजकले हरेक दिन वडा कार्यालयमा दिनभरको जानकारी गराउनु पर्ने व्यवस्था मिलाएका छौं’, वडा अध्यक्ष दीपक हमालले भने,‘उहाँहरुले गाउँबस्तीमा जुवा तास खेलेनखेलेको, भोजभतेर गर्ने मानिसहरु भेला भएको पाइएमा पहिले सम्झाउनु हुन्छ । यदी अटेर गरेरमा कारवाहीको लागि वडा कार्यालयलाई भन्नुहुनेछ ।’
अत्यावश्यक सामाग्री खरिदका लागि उक्त वडा भित्र रहेका पसलहरुलाई बिहान ६ बजे देखि ८ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म सञ्चालन गराउन आग्रह गरिएको छ । उक्त समय भिडभाड नगरी आलोपालो आफूलाई चाहिएको सामाग्री खरिद गर्न पनि वडाबासीलाई अनुरोध गरिएको छ । ‘गाउँमा कोही नयाँ मानिस आउनुभयो भने उहाँको बारेमा आवश्यक जानकारी लिन काम पनि उक्त समूहले गर्नेछ,’ वडा अध्यक्ष हमालले भने,‘क्वारेन्टाइनमा बस्नु पर्ने बिरामी देखिएमा वडा कार्यालयमा जानकारी गराउनु हुन्छ । उहाँहरुकै सूचनाको आधारमा हामी त्यस्ता विरामीलाई व्यवस्थापन गर्नेछौं ।’
आर्थिक रुपले विपन्न व्यक्तिहरुको तथ्याङ्क संकलन गरी राहत सहयोग आवश्यक परे वडा कार्यालयमा जानकारी गराउन भनिएको छ । अत्यावश्यक सेवा र अनुमती बाहेकका सवारी साधन चलाइएको फेला परेरमा सोको जानकारी वडा कार्यालयमा गराउने समेतको जिम्मेवारी उक्त समितिलाई दिइएको छ ।