खोजखबर
गोरखा, चैत २६ गते ।
सिरानचोक गाउँपालिका–२ उपल्लो पाममा रेबिजको सन्त्रास फैलिएको छ । कुकुरको टोकेर स्थानीय ४५ वर्षीय रामबहादुर गुरुङको मृत्यु भएपछि गाउँ नै त्रसित भएको हो ।
‘उहाँलाई माघ २ गते कुकुरले टोकेको रहेछ । फागुन १३ गते उहाँ बित्नु भयो भन्ने जानकारी हामीले पायौं,’ गाउँपालिका अध्यक्ष राजु गुरुङले भने, ‘मैले स्वास्थ्य शाखाका साथीहरुलाई त्यहाँ अध्ययनका लागि पठाएँ ।’ रामचन्द्र पाण्डेको नेतृत्वमा गएको टोलीले अध्ययन गर्दा गुरुङको मृत्यु रेबिजको संक्रमणबाट भएको पुष्टि भयो । ‘उहाँको मृत्युको प्रकृति र लक्षण हेर्दा रेबिज लागेको प्रमाणित भयो,’ पाण्डेले भने, ‘त्यसपछि हामीले परिवारका सदस्य र आसपासका स्थानीयको पहिचान गरी एन्टिरेबिज भ्याक्सिन दिन सुरु गरेका छौं ।’
गुरुङलाई कुकुरले हातमा टाकेको थियो । उक्त सामान्य घाउ केही दिनमा निको भएपनि पुरै हात दुख्ने पोल्ने समस्या भएपछि उनी उपचारका लागि आँपपिपल अस्पताल पुगेका थिए । त्यहाँ सामान्य उपचार गराए घर र्फिर्कएपछि झनै पानी देखि डराउने, पिउन नमान्न समस्या देखिएपछि परिवारका सदस्यले स्थानीय थालाजुङ स्वास्थ्य चौकीमा लगेर स्लाइन लगाएका थिए । ‘उहाँले अन्तिम अबस्थामा कुकुरको जस्तो आबाज निकाल्ने त्यस्तै व्यवहार समेत देखाएको परिवार स्रोतबाट हामीले थाहा पायौं,’ स्वास्थ्यकर्मी पाण्डेले भने, ‘फेरी त्यही ठाउँमा अन्य दुई जनालाई पनि छुट्टाछुट्टै कुकुरले टोकेको रहेछ, त्यसैले सबैलाई खोप लगाउने हाम्रो तयारी हो ।’
माघ १० गते ८३ वर्षीय कलाबती गुरुङ र १६ गते ६६ वर्षका हर्कबहादुर गुरुङलाई पनि कुकुरले टोकेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख टुकमान श्रेष्ठले जानकारी दिए ।
गुरुङको मृत्यूपछि त्रसित स्थानीय मध्ये १७ जनालाई जिल्ला अस्पताल गोरखा ल्याएर पहिलो चरणको खोप दिइएको छ । बाँकीलाई भने मंगलबार दोश्रो चरणको खोप लगाइएको श्रेष्ठले बताए । ‘गाउँपालिकाले खोपको प्रबन्ध गरेर उहाँहरुलाई लगाउने काम भएको छ,’ उनले भने,‘उहाँहरुलाई तिन चरणसम्म भ्याक्सिन ल्याएर लगाउने व्यवस्था मिलाएका छौं ।’
उक्त कुकुरबाट अन्य मानिस र पशु चौपायामा पनि भाइरस सरेको आशंकामा गाउँपालिकाको स्वास्थ्य र पशुशाखाले अध्ययन सुरु गरेको छ ।