खोजखबर
गोरखा, बैशाख ८ गते, सोमबार ।
लकडाउनका मौका छोपी बजारमा अनियमिता मौलाएको गुनासो बढेपछि गोरखा नगरपालिकाले अनुगमन गरेको छ । सोमबार बिहान सदमुकामको नयाँ बजार देखि आयुर्वेदिक चोकसम्मका किराना र तरकारी पसलको अनुगमन गरिएको हो ।
‘यो विपत्तीको मौका छोपी बजारमा हुनसक्ने बदमाशी प्रति हामी सचेत छौं,’ गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठले भनिन्, ‘उपभोक्ताहरु कुनै हालतमा ठगिनु हुँदैन्, यदी कोही व्यापारीले उपभोक्ता अधिकार ऐन विपरितको हर्कत गर्छ भने हामी कानून अनुसार कडा कारवाही गर्छौ ।’ एक दर्जन खाद्यन्न, मसला र तरकारीको पसल अनुगमन गरिएको गोरखा नगरपालिकाका प्रशासकीय अधिकृत चेतप्रसाद अम्गाईले बताए ।
त्यसमध्ये बिसौनी मोडमा कुहिएको तरकारी बिक्रिका लागि राखेको फेला परेपछि त्यसलाई तत्काल नष्ट गर्न नगरपालिकाकाले निर्देशन दिएको छ । केही दिन अघि भारतीय सवारी साधन मार्फत ल्याइएको घिरौंला, काक्रो गोडभेडा, गाजर, कागती लगायतका तरकारीहरु कुहिएको अबस्थामा फेला परेको हो । आइन्दा सडेगलेको तरकारी बिक्रिका लागि राखिएको भेटिएमा कानून अनुसार कारवाही गर्ने नगरपालिकाले चेतावनी दिएको छ । त्यस्तै आर्युवेदिक चोक नजिकैको खान्चोक किराना पसलमा पापड, बिस्कुट, गुलकोज लगायतका विभिन्न खाद्यन्न सामाग्रीको म्याद नाघेको फेला परेको छ । त्यस्ता खाद्यन्नलाई पसलबाट हटाएर नष्ट गर्न नगरपालिकाले निर्देशन दिएको छ । यसैगरी गोरखा बजारमा लकडाउनपछि मसिनो चामलमा प्रतिबोरा ७५ र दालमा १०० रुपैयाँ मुल्यवृद्धि भएको छ । उद्योगबाट नै उक्त मूल्य बढाइएकाले यहाँ पनि बढाउनु परेको व्यापारीहरुले बताएका छन् । तर स्टक सामानको पनि मूल्य बढाएर बेचिएको उपभोक्ताहरुको गुनासो छ ।यसैगरी केही मसला र तरकारी पसल, भिडभाड नगरी सञ्चालन गर्न निर्देशन दिएको छ ।
साथै उपभोक्ताहरुलाई पनि सामानको गुणस्तर हेरेरमा मात्र खरिद गर्न गोरखा नगरपालिकाले अनुरोध गरेको छ । ‘सामानको गुणस्तर र मुल्य सूची हेरेर मात्र सामान किन्न सबै उपभोक्ताहरुलाई हामी अनुरोध गर्छौं,’ उपप्रमुख श्रेष्ठले भनिन्, ‘तपाईलाई कतै अनियमिताको शंका लाग्यो भने तत्काल खबर गर्नुहोस्, कालोबजारी गर्नेलाई हामी कारवाही गर्छौं ।’