खोजखबर
गोरखा, बैशाख १३ गते, शनिवार ।
कोरोना भाइरसको संक्रमण रोक्न सिरानचोक गाउँपालिकाले विभिन्न रचनात्मक काम गरिरहेको छ । अन्य पालिकाहरुले समेत अनुसरण गर्ने गरी टोलटोलमा प्रतिकार्य समिति बनाएर व्यवस्थित रुपमा काम गरेको उक्त गाउँपालिकाले काठमाण्डौंबाट ल्याउने सर्वसाधरण सबैको स्वास्थ्य परीक्षण गर्ने तयारी गरेको छ ।
‘हामी त्यसै ह्वार्रह्वार्ती मानिस ल्याउने पक्षमा छैनौं,’ सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङले भने, ‘हाम्रा नागरिकलाई अत्यान्त व्यवस्थित रुपमा घर ल्याउने हाम्रो तयारी छ ।’ अध्ययन र पेशा व्यवसायको शिलशिलामा हाल काठमाण्डौमा रहेका घर आउन चाहने सबैलाई स्वास्थ्य परीक्षण गराएर मात्र ल्याउने गाउँपालिकाको योजना छ ।
८ वटै वडा अध्यक्ष र १५२ वटा कोरोना प्रतिकार्य समितिसँग आवश्यक छलफल गरी सर्वसारधणलाई घर ल्याउन लागिएको हो । जसको लागि काठमाण्डौमा १६ सदस्सिय समिति बनाइएको छ ।
आठ वटै वडाका २÷२ जना सदस्य रहेको उक्त समितिले वडागत रुपमा गाउँ फर्कन चाहानेको नामावली संकलन गरेको छ । उनीहरुलाई आगामी १६ र १७ गते विभिन्न ठाउँमा हेल्थ क्याम्प राखेर स्वास्थ्य परीक्षण गराउने तयारी छ । ‘अहिलेसम्म ६ जना एमबिबिएस डाक्टरहरुको व्यस्थापन भइसकेको छ । अब दुई जना थप गरी हामी हेल्थ क्याम्प गर्छौं,’ उनले भने ,‘त्यहाँ ज्वरो मात्र चेक गरिन्न, जेनेरल सबै जाँच हुन्छ । अनि डाक्टरसापहरुको रिर्पोटका आधारमा मात्र उहाँहरुले बस चढ्न पाउने नपाउने एकिन हुन्छ ।’ घर फर्किन चाहने सर्वसाधरणहरु दिर्घरोगी भएमा आफूले खाने एक महिनाको औषधीको व्यवस्था गरेर आउन गाउँपालिकाले आग्रह गरेको छ । हाल विभिन्न ठाउँमा रहेका दिर्घरोगीहरुलाई गाउँपालिकाले नै औषधीको प्रवन्ध गरिदिएको छ । डाक्टरको रिर्पोटको आधारमा होमक्वारेन्टिन वा सामुहिक क्वारेन्टिममा बस्ने सर्वसाधरणको टुंगो लाग्नेछ । ‘काठमाण्डौंमै केहि शकास्पद देखियो भने हामी उहाँलाई छुट्टै किसिमले ल्याएर वडा–वडामा निर्माण भएका मास क्वारेन्टिममा राख्छौं,’ अध्यक्ष गुरुङले भने, ‘अन्य पनि नियमपूर्वक होम क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ ।’
गाउँ आइसकेपछि पनि स्थानीय स्वास्थ्य संस्थामा परीक्षण गराउने र आशंका लागिका सर्वसाधारणलाई सामुहिक क्वारेन्टिन र सामान्य मानिसलाई होम क्वारेन्टिनमा पठाउने बताइएको छ । वडा–वडामा निर्माण भएका सामुहिक क्वारेटिनमा बस्नेहरुको खानपानको व्यवस्था भने गाउँपालिकाले नै गर्ने भएको छ । ‘उहाँहरु सबैको विवरण राख्न दुई वटा फर्मेट बनाइएको छ । उक्त विवरण कोरोना प्रतिकार्य समिति, सम्बन्धित वडा र काठमाण्डौमा समेत रहनेछ,’ उनले भने, ‘जसले गर्दा पछि केही समस्या परिहाल्यो भने पनि एक्सन लिन सहज हुन्छ ।’ व्यवस्थित रुपमा नागरिक ल्याउन लागिएकाले नआत्तिन सबै सर्वसाधारणलाई गाउँपालिकाले अनुरोध गरेको छ ।
लकडाउनको समय अनिश्चित भएसँगै गोरखाका विभिन्न स्थानीय तहले धमाधम आफ्ना नागरिक ल्याउन थालेका छन् । स्वास्थ्य परीक्षण बिनै मानिस ल्याइएको भन्दै आलोचना भइरहेको छ । त्यसले सर्वसाधारणमा त्रास सिर्जना भएको छ ।