कोरोना भाइरस नियन्त्रणको कामना गर्दै गोरखनाथलाई सवालाख रोट अर्पण

Share on Your Social Media
  • 155
  •  
  •  
  •  
  •  
  •  
    155
    Shares

खोजखबर
गोरखा, जेठ ४ गते ।

विश्वभरमहामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणको कामना गर्दै गुरु गोरखनाथलाई सवा लाख रोट चढाइएको छ ।
नेपालकै ऐतिहासिक गोरखा दरबार परिसरमा रहेको गोरखनाथ गुफामा विशेष पुजा सहित रोट महोत्सव गरिएको हो । ‘यो विपत्तीका बाबजुद पनि हामीले गुरु गोरखनाथको सेवा भक्ति गर्न पाऔं,’ आयोजक सिद्र्धाश्रम शक्तिकेन्द्रका केन्द्रिय संयोजक रामजी अर्यालले भने, ‘कोराना भाइरस छिट्टै नियन्त्रण होस् भनेर विशेष पुजा गरेयौं, उहाँलाई मनपर्ने रोट प्रसाद चढायौं ।’ बैशाख २५ गते पुर्णिमाको दिन देखि सुरु भएको १७ औं सवालाख रोट महोत्सव आइतबार सकिएको छ ।
११ दिनसम्म चलेको यस वर्षको रोट महोत्सव भने विगतको जस्तो उल्लासपूर्ण हुन सकेन । भक्तजनको उपस्थिती बिना आयोजक र गोरखनाथ गुफाका पुजारी एवं सहयोगीहरुले मात्र रोट चढाएका हुन् । ‘यस वर्ष देश विदेशबाट भक्तजन सहभागी हुन पाउनुभएन । सबैको प्रतिनिधित्व गर्दै हामीले रोट प्रसाद अर्पण गर्ने काम सम्पन्न गरेका छौं,’ उनले भने ,‘यसबाट गुरु गोरखानाथ प्रशन्न भएर हामीसबैको उद्धार गर्नुहुनेछ भन्ने विश्वास छ ।’ अघिल्ला वर्षहरुमा देश तथा विदेशबाट २० हजार भन्दा बढि भक्तजन रोट महोत्सवमा सहभागी हुने गरेको केन्द्रको दाबी छ । रोट महोत्सव सुरु हुनु अघि गोरखा बजारमा निकालिने रथ यात्रामा हजारौं भक्तजन सहभागी हुने गर्थे । ११ दिनसम्म दैनिक हवन, भजन कृतन र पुजापाठ हुने गोरखनाथ गुफामा रोट चढाउनका लागि सामाग्री व्यवस्थापनको काम पनि आयोजक आफैले मिलाएको थियो । ‘यस वर्ष हामीले शुभेक्षुकहरुको सहयोग लिन पनि असमर्थ रह्यौं,’ संयोजक अर्यालले भने, ‘कोषमा भएको साधन स्रोत परिचालन गरी रोट महोत्सव सम्पन्न गरेका छौं, आगामी वर्षहरुमा उहाँहरु सहयोग प्राप्त हुने नै छ ।’ रोट प्रसाद चढाउनका लागि देशका विभिन्न ठाउँबाट रकम, पिठो, घ्यू तेल,चिनी, किसमिस सहयोग प्राप्त हुने गरेको थियो ।
चामल, गहुँ, जौं लगायतका शुद्ध अन्नमा ल्वाङ, सुकमेल, काजु, बदाम, नरिबल, जाइफल लगायतका विभिन्न ५२ थरीका शक्तिबर्दका मसला मिसाएर घ्यूमा पकाइएको विशेष परिकारलाई रोट भनिन्छ । गुरु गोरखनाथलाई सबै भन्दा मनपर्ने खाद्य बस्तुको रुपमा चित्रित रोट चढाएमा परिवारमा सुख, शान्ती, समृद्धि प्राप्त हुने, आँटे ताकेको सबै पुरा हुने जनविश्वास छ । गोरखा र आसपासमा हरेक वर्ष नयाँ अन्न उत्पादन भएपछि गोरखनाथलाई चढाएर मात्र खाने चलन छ । सिद्र्धाश्रम शक्तिकेन्द्रले भने हरेक वर्ष गुरु गोरखनाथ प्रकट भएको दिनको संझनामा हरेक वर्ष बैशाख पुर्णिमा देखि ११ दिनसम्म सवा लाख रोट चढाउदै आएको छ ।
२०७२ बैशाख १२ गते गएको बिनाशकारी भूकम्प भत्काएको ऐतिहासिक गोरखा दरबार, गोरखकाली मन्दिर र गोरखनाथ गुफाको पुर्ननिर्माण कार्य भने अझै सम्पन्न हुन सकेको छैन ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *