मुस्लिम समुदायले ईद मनाउँदै, कोरोनाका कारण यस वर्षको ईद खल्लो

Share on Your Social Media
  • 47
  •  
  •  
  •  
  •  
  •  
    47
    Shares

खोजखबर
गोरखा, जेठ १२ गते ।

रमजान महिना सकिएको खुसीयालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाउँदैछन् । हिजरी संवतको रमदान महिनाभर (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।

फरक–फरक भूगोल विशेषमा ईदको दिन विगतदेखि नै फरक पर्दै आएको छ । तोकिएका क्षेत्रका मुख्य मौलाना (धर्मा्धिकारी)ले चन्द्रमा देखिएको घोषणा गरेर भोलिपल्ट ईद मनाउन आह्वान गरेपछि पर्व मनाइने हुँदा कहिलेकहीँ फरक–फरक क्षेत्रमा दिन फरक पर्ने गरेको छ ।

ईद पर्वमा अल्लाह (भगवान) का नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लाम परम्परा छ । ईदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु)ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् । धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइ (गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु) को खिर र मिष्ठान्न परिकार खाने(खुवाउने चलन छ ।
ईदमा इस्लाम धर्मावलम्बीले गरिब र असहायका लागि ‘जकात’ अर्थात् आफ्नो कमाइको २.५ प्रतिशत रकम कोषमा दिने परम्परा छ ।

पर्वमा बस्तीभित्रको मस्जिदमा सबै पुरुष भेला भएर सामूहिक नमाज पढ्ने परम्परा भए पनि यसपालि कोरोना भाइरस संक्रमणको जोखिमका कारण घरमै बसेर ईद मनाउन नेपाल मस्लिम आयोगले आह्वान गरेको छ । ईदको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

कोरोना संक्रमणका कारण यस वर्ष ईद भने खल्लो भएको छ । देशमा लगाइएको लकडाउन मुस्लिम समुदायले घरमा बसेर ईद मनाउन बाध्यता परेको छ । जो जहाँ छ त्यहीँ होम क्वारेन्टिनमा बसेकाले आफन्तहरुसँग भेटघाट बिनै ईद मनाइरहेका छन् । लकडाउनका कारण गोरखाका अधिकाशं मुस्लिम बस्तीमा विगतमा जस्तो रौनक छैन ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *