सानातिना काम सुरु हुँदै, ठूला ठेकेदार भने काम नगर्ने मनस्थितीमा

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख १९ गते ।
बुधबार गोरखा र तनहुँ जोड्ने मस्र्याङ्गी नदी माथि निर्माणधिन तुरतेरेको मोटरेवल पुलको ढलान भयो । ७० प्रतिशत काम सम्पन्न भइसकेको उक्त पुल यसै आर्थिक वर्षमा सक्ने लक्ष्यका साथ लकडाउनका बेलामा पनि काम भइरहेको छ ।
‘चैतको १६÷१७ गतेसम्म पनि हामीले काम गरिरहेका थियौं, विचमा केही दिन काम अवरुद्ध भयो, अहिले फेरी पाल्पाबाट लेबर ल्याएर, स्थानीय समेत थप गरि काम सुरु गरिसकेका छौं,’ पुल निर्माण योजना पश्चिम क्षेत्र सेक्टर नम्बर ४ पाल्पाका इन्जिनियर नबराज बास्तोलाले भने, ‘बुधबार गोरखा तर्फको फर्मामा ढलान भयो, अब तिन ढलान बाँकी छ । एक हप्तामा ढलानको काम सकिन्छ ।’


शहिद लखन गाउँपालिका–९नाम्जुङको केउरेपानी खानेपानी आयोजना काम पनि सुरु भएको छ । ‘दाङबाट १४ जना कामदार ल्याएर लकडाउन हुनु भन्दा केही दिन अघि काम सुरु गरेका थियौं,’ उपभोक्ता समितिका अध्यक्ष मुक्ति लामिछाने भने, ‘७ जना कामदार घर फर्र्किए, बाँकी ७ जनाले काम गरिरहेका थिए । वीचमा केही दिन रोकियो, अहिले अनुमती लिएर फेरी काम सुरु गरेका छौं ।’ वर्खा लागेपछि बिग्रन सक्ने केही खानेपानी, सिंचाई र पुल निर्माणको काम भने सुरु भएका छन् ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाले ३८ वटा योजना निर्माणका लागि जिल्ला प्रशासन कार्यालयबाट स्वीकृती लिएको छ । ‘स्थानीय स्तरमै कामदार उपलब्ध भएका, जिल्ला भित्रकै निर्माण सामाग्रीले सम्भव हुने केही योजनाहरुको निर्माण कार्य अगाडी बढाउने तयारी गरेका छौं,’ डिभिजन प्रमुख तुलसी बस्नेतले भने, ‘३÷४ वटामा काम सुरु भइसकेको छ ।’


हालसम्म एघारकिलो भालुस्वाँरा सडक आयोजनाले ११, पूर्वाधार बिकास कार्यालय लम्जुङले २०, जलस्रोत तथा सिंचाइ बिकास डिभिजन कार्यालय २९ वटा योजना निर्माणका लागि स्वीकृती लिएका छन् । ‘अनुमती लिने क्रम जारी छ । अहिलेसम्म १९ वटा कार्यालयले ११५ भन्दा बढि योजना÷आयोजनाहरुले स्वीकृती लिइसकेका छन्, प्रशासकीय अधिकृत हर्क रोकाले भने, ‘निर्माण सामाग्री ढुवानी गर्ने सवारी पास प्रदान गरिसकेका छौं ।’

काम गर्ने परिस्थिती नभएको ठेकेदारको गुनासो


गोरखाका अधिकांश निर्माण व्यवसायी भने अहिले काम गर्ने सोचमा छैनन् । ‘सरकारले लकडाउन गरेपछि काम रोकेर घरमा बस भन्यो, हामीले करोडौंका माल मेसिन साइडमै छोडेर बसिरहेका छौं,’ निर्माण व्यवसायी महासंघका केन्द्रिय सदस्य उत्तम भट्टले भने, ‘हाम्रा कर्मचारी, कामदार बिजोगले घर पुगेका छन् । त्यसैले अहिले हचुवाको भरमा काम गर भनेर गर्न सकिने अबस्था छैन् ।’

भट्टले १२ किलो मसाने ठाँटी र जौवारी भच्चेक सडकमा कालोपत्रका लागि तयार पारिएको बिटामिन लगायतको निर्माण सामाग्री नष्ट भएका गुनासो समेत गर्नु भएको छ । ‘साइडमा भएका सामान सबै काम नलाग्ने भएको छ । गिट्टी बालुवा त जिल्लामै होला, छड सिमेन्ट कसरी ल्याउने ?’ उनले प्रश्न गरे । सडक कालोपत्रेको लागि तराई र छिमेकी मुलुक भारत पनि कामदार ल्याउनु पर्ने भएकाले अहिले सम्भव नरहेको निर्माण व्यवासीहरु बताउँछन् ।


‘इन्जिनियर, ओभरसियर, अपरेटर, ड्राइभर, मिस्त्री, लेबर बाहिरका छन् । सबै आ–आफ्नो घर गइसके, तिनहरुलाई अहिले नै ल्याउने अबस्था छैन्,’ अर्का व्यवसायी जनक भट्टले भने ‘बाहिरी जिल्लाबाट कामदार ल्याउने अनुमती पाए मात्र काम गर्न सकिन्छ नत्र सम्भव छैन ।’ लकडाउन सुरु हुनुपूर्व भच्चेक सिरानडाडा सडक कालोपत्रे गरिरहेका भट्टको जिल्ला अस्पताल भवन निर्मााण लगायत गोरखामा आधा दर्जन ठेक्का छन् । ‘अहिले काम नगरे बर्खामा क्षति हुन सक्ने, फर्माहरु ठोकिसकेका, ढलान हुनबाँकी केही यस्ता काम होलान,’ निर्माण व्यवसायी संघ गोरखाका अध्यक्ष बाबुराम श्रेष्ठले भने, अरु काम गर्न सक्ने अबस्था छैन ।’

लकडाउनका कारण गोरखामा केन्द्र, प्रदेश र स्थानीय सरकारका गरी ७ हजार भन्दा बढि साना ठूला बिकास निर्माणका योजना प्रभावित भएको निर्माण व्यवसायी संघको अनुमान छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *