खोजखबर
गोरखा, बैशाख २५ गते ।
गोरखा नगरपालिकाले बिहिबारबाट दादुरा–रुबेला खोप अभियान सुरु गरेको छ । छिमेकी गाउँपालिका शहिद लखन र गण्डकीमा दादुराको संक्रमण फैलिएपछि गोरखा सर्तकता अपनाईएको गोरखा नगरपालिकाले जनाएको छ ।
‘छिमेकी पालिकाहरुमा धमाधम संक्रमण देखिन थाले, उक्त रोग यहाँ फैलन नदिन लकडाउनका बाबजुद पनि तत्काल खोप अभियान सञ्चालन गरेका हौं,’ गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले पन्तले भने, ‘कोरोनाका कारण दादुरा रुबेलाको खोप अभियान रोकिएका थियो । स्वास्थ्य मन्त्रालय र विभागसँग समन्वय गरी विपद् व्यवस्थापन कोषको रकम समेत परिचालन गरेर बालबालिकालाई खोप लगाउने व्यवस्था गरेका छौं ।’ पहिलो चरणमा ५ वटा स्थानीय तहमा खोप अभियान सञ्चालन भएपनि बाँकी ६ वटा स्थानीय तहको लागि रकम निकासा नआएपछि गोरखा नगरपालिकाले आफै स्रोत जुटाएको हो ।
नगर क्षेत्रका ४९ वटा खोपकेन्द्र बिहीबार खोप अभियान सञ्चालन गरिएको छ । सामाजिक दुरी कायम गरी बालबालिकाहरु खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य शाखा प्रमुख ईश्वर रेग्मीले जानकारी दिए । ‘विदाको दिनमा नगरपालिकाका सबै कर्मचारी समेत खटाएर आवश्यक सामाजिक दुरी कायम गरी खोप लगाउने काम गरेयौं,’ उहाँले भन्नुभयो, ‘हाम्रो ट्रागेट ३८ सय वच्चालाई खोप लगाउनु हो । आज लगाउन छुटेकाहरुलाई हामीले सामाजिक शाखाको कार्यालयमा छुट्टै युनिट स्थापना गरेर नियमित खोप लगाउने व्यवस्था मिलाएका छौं ।’
खोप केन्द्रमा बैशाख २५, २६ र २७ गते अभियान नै सञ्चालन हुनेछ । ६ महिना देखि ५ बर्ष मुनिका बालबालिकाहरुलाई भिटामिन ‘ए’ को साथै जुकाको औषधी खुवाउने र ९ महिना देखि ५ बर्ष सम्मका बालबालिकाहरुलाई खोप लगाउन लागिएको उनले बताए । केही दिन अघि गण्डकी गाउँपालिकाको क्षेत्रीखोला र हुलिङको चेपाङ बस्तीमा ४ जनालाई दादुरा रोग पुष्टि भएको थियो । सोही गाउँपालिकामा ४ र शहिद लखन गाउँपालिका मैकपुरका एक व्यक्तिमा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिपछि त्यसलाई उनिहरु विशेष निगरानीमा राखेर उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राजु न्यौपानेले जानकारी दिए । ‘टेस्ट गरेर फाइन भएको केस ४ मात्र हो, अरु केही दादुरासँग मिल्दाजुल्दा बिमारी देखिएका छन,’ उनले भने, ‘सम्बन्धित पालिकासँग समन्वय गरी उहाँहरुलाई निग्ररानीमा राखेर उपचार भइरहेको अबस्था हो ।’
सोही अनुरुप गण्डकी गाउँपालिकाले शुक्रबारबाट दादुरा रुबेला खोप अभियान सञ्चालन गर्दैछ । शहिद लखन गाउँपालिकाले छिट्टै खोप लगाउन तयारी गरिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।