४८ दिन लामो लकडाउन पछि आजबाट देशभरका सरकारी कार्यालय र बैंक तथा वित्तिय संस्था खुले

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख २८ गते ।
सरकारले आजबाट देशभरका अत्यावश्यक सेवा प्रवाह गर्ने सरकारी कार्यालय र बैंक तथा वित्तिय संस्था सञ्चालनमा ल्याएको छ । ४८ दिन लामो लकडाउनपछि पहिलो चरणमा सरकारी कार्यालय र बैंक तथा वित्तिय संस्था सञ्चालनमा ल्याउन सरकार निर्णय अनुसार ती कार्यालयहरु सञ्चालनमा आएका हुन् ।
अत्यावश्यकीय सेवा प्रवाहका लागि सम्बन्धित स्थानीय तह तथा सुरक्षा निकायको समन्वयमा सरकारी तथा सार्वजनिक संस्था, वैँक तथा वित्तीय संस्था, बिमा कम्पनी, सहकारी संस्थाले प्रबाह गर्दै आएका वित्तीय क्रियाकलाप सुचारु गरिएको छ । सरकारको निर्देशन अनुरुप सम्बन्धित जिल्लाका जिल्लास्तरीय कमाण्ड पोष्ट, जिल्ला सुरक्षा समिति तथा कोरोनाबाट उत्पन्न विपद व्यवस्थापन केन्द्रको निर्णयका आधारमा आलोपालो गरी न्यूनित्तम कर्मचारी परिचालन गरी, न्यूनत्तम सामाजिक दुरी, स्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्ड पुरा गरेर कार्यालयहरु सञ्चालनमा ल्याइएको हो । सरकारले लकडाउन केही खुकुलो बनाएको छ । बिकास निर्माण, उद्योग कलकारखानालाई सञ्चालनको अनुमती दिइसकेको छ । हरेक जिल्ला भित्र त्यहाँका स्थानीय तह र सुरक्षा निकायको समन्वयमा बिकास निर्माणका काम गर्ने, निर्माण सामाग्री उत्खनन तथा ढुवानी गर्ने अनुमती समेत प्रदान भइसकेको छ । बिकास निर्माणका कामको शिलशिलामा बाहिरी जिल्लाबाट कामदार ल्याउन भने नपाइने व्यवस्था हरेक जिल्लामा गरिएको छ । संक्रमण नभएको जिल्लाबाट कामदार ल्याउनका लागि पनि अनिबार्य रुपमा स्वाव परीक्षण गर्नुपर्ने, दैनिक स्वास्थ्य जाँचको व्यवस्था गर्नुपर्ने, कार्यस्थलबाट बाहिर जान नपाउने लगायतका बाध्यकारी व्यवस्था गरिएको छ ।
लकडाउन केही खुकुलो परिएपछि यातायात र सर्वसाधारणको आवातजावतमा भने प्रतिबन्ध कायम छ ।
औषधी, खाद्य सामग्री, स्वास्थ्य सामग्री, कृषि सामग्री, मल, बिउबिजन, एग्रोभेट, पशुजन्य बस्तु उत्पादन तथा बिक्रीवितरण गर्ने उद्योग तथा पसलहरुलाई खोल्न अनुमती दिइएको छ ।
यसैगरी बिकास निर्माणमा प्रयोग हुने उपकरण, निर्माण सामग्री–ढुंगा, गिटी, बालुवा, रड, सिमेण्ट, बोर्ड, पाइप, फिटिङ्का सामग्रीका पसल निर्बाध रुपमा सञ्चालन गर्ने दिन सरकारले जिल्ला प्रशासनहरुलाई अनुमती दिएको छ ।
जनक शिक्षा सामग्री केन्द्रबाट प्रकाशित पाठ्यपुस्तक बिक्री गर्ने पसललाई निर्बाध सञ्चालन गर्न दिने, त्यस्ता पसललाई आवश्यक पाठ्युपुस्तक ढुवानी गर्ने साधनलाई पासको व्यवस्था गर्ने बताइएको छ । योसँगै जिल्ला जिल्लामा पाठ्यपुस्तक ढुवानी सहज हुने विश्वास लिइएको छ ।
सरकारले ७७ वटै जिल्लामा गरेको परिपत्रको आधारमा सम्बन्धित जिल्लाका सरोकारवालाहरुले बैठकले बसी जिल्लाको परिबेस अनुसारको निर्णय गरी लकडाउन केही खुकुलो पारेका हुन । काठमाण्डौ जिल्ला प्रशासनले भने सरकारी कार्यालय र बैंक तथा वित्तिय संस्था संचालनमा आएपछि सवारी साधन सञ्चालनका लागि टाइम कार्ड समेत लागु गरेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *