नवलपुरका युवाहरुले बनाए गावैं झिलिमिली

Share on Your Social Media
  • 2
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

खोजखबर
गोरखा, जेठ १ गते ।
सिरानचोक गाउँपालिका–३ हर्मी नवलपुरका युवाहरुले आफ्नो गाउँलाई झिलिमिली बनाएका छन् । स्थानीय नवलपुर युवा क्लवमा आवद्ध २५ जना युवाहरु आफ्नै खर्चमा सडक बक्ति जडान गरेका छन् । ‘सानो काम पनि कति अरुको मुख ताक्ने भनेर हामीले नै वत्ति राख्ने निधो गरेयौं,’ क्वलका अध्यक्ष जमालुदिन मियाँले भने, ‘केही पैसा क्वलको खातामा थियो नपुगेको खल्तीबाट हालेर काम गरेका छौं ।’


२५ घर रहेको त्यहाँ १९ वटा वत्ति जडान गरिएको छ । नजिकै रहेको महेन्द्र लिला माबिमा जाने बाटोमा भने विद्यालय खुलेपछी समन्वय गरेर बत्ती राख्ने उनले बताए । ‘पहिले महत्वपूर्ण ४÷५ ठाउँमा मात्र बत्ति जोड्ने कुरा भएको थियो, त्यसका लागि जम्मा १४÷१५ हजार जति लाग्छ भन्ने कुरा आयो । त्यहीँ अनुसार काम सुरु गरेयौं,’ वडा सचिव समेत रहेकी क्वलकी सदस्य अजिता राईले भनिन्, ‘पछि आएर सबैले गाउँभरी जोडौं बरु क्लवमा बचतको पैसा पनि खर्च गरौं भन्नुभयो । अनि १९ ठाउँमा बत्ति राक्ने निष्र्कषमा पुगियो ।’


अन्य कसैको सहयोग विना देउसी भैलो, पुजाआजामा जम्मा भएको रकम र क्वलका सदस्यले मासिक बचत गरेको रकम उक्त कार्यमा खर्च गरिएको छ । झण्डै ४८ हजार रुपैयाँमा सडक तथा सार्वजानिक स्थलहरुमा वत्ति राख्ने काम सम्पन्न भएको छ । उक्त रकम सामान किन्न मात्र खर्च गरिएको हो । जडानका लागि भने स्थानीय आफैले श्रमदान गरेको छन् । नजिकैको घरबाट महसुल तिर्ने व्यवस्था मिलाइएको छ । विद्युतको पोल भएको ठाउँमा त्यहीँ पोलमा र नभएको ठाउँमा नयाँ पोल राखी बत्ति बालिएको उनले बताईन ।


अब रातको समयमा हिडडुल गर्न, पानी पधेंरो गर्न पनि सजिलो हुने भन्दै स्थानीय खुसी भएका छन् । उक्त क्वलले सडकको नाला निर्माण गर्ने, पैदलबाटोमा सिडि लगाउने लगायतका योजना बनाएको छ । ‘अब क्लवको खातामा पैसा छैन । बाटो निर्माण गर्नका लागि कसैले सहयोग गरे श्रमदान बरु आफैले गर्थौं,’ अध्यक्ष मियाँले भने, ‘त्यसको लागी वडा, गाउँपालिका र अन्य संघसंस्थाहरुसँग छलफल भइरहेको छ ।’ अधिकाशं पिछडिएका दलित र मुस्लिम समुदायको बस्ती रहेका त्यहाँका युवाहरुले विभिन्न समयमा सचेतनामुलक काम गर्दै आएका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *