श्रीनाथकोटका झण्डै ६ सय घरधुरी एक महिना यता अन्धकारमा, मर्मतमा विद्युत वितरक संस्थाको चरम लार्पवाही

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, असार २९ गते ।

सिरानचोक गाउँपालिका–७ श्रीनाथकोटमा विद्युत सेवा ठप्प भएको एक महिना बित्यो । तर अहिलेसम्म मर्मत नहुँदा त्यहाँका करिब ६ सय घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् ।
‘एउटा ट्रान्सफर्मर पहिले बिग्रिएको थियो, असार लागेपछि तीन वटा बिग्रिए, त्यसपछि बनाउन लगेको हो, अहिलेसम्म बनेर आएको छैन्,’ स्थानीय युवराज पाण्डेले भने, ‘एक फेज मिलाएर मुस्किलले मोबाइल चार्ज गर्ने व्यवस्था मिलाइएको छ । तर बत्ति बाल्न पाइएको छैन ।’
सामुदायिक विद्युतिकरण विभागको स्वीकृतीमा पवित्र सामुदायिक विकास सहकारी सस्था लिमिटेडले सञ्चालन गरेको विद्युत सेवा ठप्प भएपछि त्यहाँका स्थानीय एक महिना यता अन्धकारमा बस्न बाध्य भएका हुन् । विभागको ८० प्रतिशत र स्थानीयको २० प्रतिशत लागत साझेदारीमा १२ वर्ष अघि देखि सञ्चालनमा रहेको विद्युत सेवा कमजोर व्यवस्थापनका कारण अहिले जिर्ण अबस्थामा पुगेको स्थानीयको आरोप छ ।
एकै चोटी ४ वटा ट्रान्सफर्मर बिग्रिएर पछि मर्मतका लागि हेटौडा लगिएको छ । तर अहिलेसम्म मर्मत नहुँदा स्थानीयले विद्युत सेवा उपयोग गर्न पाएका छैनन् । ‘बत्ति नभएपछि सबै कुरा अन्धकार हुँदो रहेछ,’ एक स्थानीयले भने, ‘संस्थाका मानिसहरुलाई पैसा कमाउन पाए भइगयो, हाम्रो दुखःको मतलब छैन ।’
विद्युत नहुँदा वत्ति बाल्न, मोबाइल चार्ज गर्न, रेडियो, टेलिभिजन सुन्न÷हेर्न, दैनिक उपभोग्य सामाग्री कुटानी पिसानीमा समेत समस्या भएको उनले बताए । यता विद्युत सेवा सञ्चालन गरिरहेको उक्त सहकारी संस्थाले मर्मतको काम भइरहेको भन्दै साउनको पहिलो हप्ता विद्युत सेवा सुचारु हुने बताएको छ । ‘हामीले ९÷१० गते तिर ट्रान्सफर्मर मर्मतका लागि पठाएका हौं । अहिले धमाधम मर्मतको काम भइरहेको छ भन्ने मैले जानकारी पाएको छु,’ सहकारी संस्थाका अध्यक्ष सरोजबाबु ढकालले भने, ‘असार मसान्तसम्म मर्मत सकियो भने ल्याएर फिटिङ गर्दा, साउनको पहिलो हप्तासम्म विद्युत सेवा सुचारु हुन्छ ।’
लकडाउनका कारण मर्मतमा ढिलाई भएको सस्थाको दाबी छ । तर पनि आफूले बारम्बार ताकेता गरिरहेको उनले बताए । ‘पास नपाएका कारण बिग्रिने बित्तिकै लैजान सकिएन । कम्पनी पनि कामदार छैन भन्छ,’ ढकालले भने, ‘बनिसकेपछि ल्याएर जडान गर्न पनि समस्या छ । लकडाउनले खत्तम पा¥यो । जनता सबै अन्धकारमा हुनुहुन्छ ।’
सामुदायीक विद्युतिकरण कार्यक्रम मार्फत सञ्चालित उक्त सहकारी नीतिगत रुपमा सञ्चालन नभएको उपभोक्ताहरुले आरोप लगाएका छन् । सहकारी संस्थाका पदाधिकारीको लार्पवाहीका कारण अहिलेको अवस्था सिर्जना भएको उनीहरुको दाबी छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *