अंग्रेजीमा एउटा उखान लेखिएको छ , “आफूलाई भेट्न सक्दो टाढासम्म यात्रा गरौ | “
आखिर किन घुमफिर गर्नु र? यसको तात्पर्य के हो?
यात्रा | एउटा यस्तो शब्द जसको जति बखान लगाए पनि पुग्दैन | कतिकुरा खेलिरहेका छन् मेरा मनमस्तिष्कमा जसले मलाई सोच्न बाध्य बनाइरहेको छ, यदि मैले घुमफिरका बारेमा केही कुरा पोखीहाले भने पनि, के मैले यसको सुन्दरतालाई, यसको चाखलाग्दो गहिरोपनालाई न्याय दिन सकुँला र?
मलाई शब्द जोड्न मुस्किल परिरहेका छन् घुम्नुको महत्व बयान गर्नलाई| हरेक समय जब हामी बाहिर निस्किने गर्दछौं , त्यो पल सधै नै उत्सुकता पूर्ण हुनेगर्दछ | जीवन आफ्नै ढंगमा, आफ्नै रंगमा व्यतीत भइरहँदा समय निकालेर यसो डुल्ने गर्दा यसले हामीलाई आफू वरिपरि भइरहेका क्रियाकलाप प्रति सजक बनाउँदछ , जिवनलाई नयाँ प्रकाश बाट हेर्न जांगर प्रदान गराउँदछ |
मलाई थाहा छैन कस्तो जादु छ घुमफिर गर्नुमा तर जब पनि म यात्राका लागि निस्किने गर्दछु मलाई एकदमै ताजा महसुस हुनेगर्दछ | यात्रा गर्नाले हामीलाई के थाहा हुन्छ भने हामी सबै मानिस जीवनका कति स-साना कुराहरुमा अल्झिरहेका हुन्छौं,यसै क्रममा दुनियाँको विशालतालाई आत्म स्वरुप गर्ने हो भने हामी सबैका समस्या कति सानो लाग्नेगर्दछ| त्यसैले, आफूलाई सधै हलुका राख्न भएपनि घुम्न जरुरी छ|
त्यही आफू सधै गईरहने ठाउँले पनि आनन्दित महसुस गराई रहेको हुन्छ | जब पनि हामी यात्राका लागि भनेर आफ्नो चाँजोपाँजो मिलाइ निस्कने गर्दछौं हामी सबैलाई मनमा कतै न कतै बेग्लै खालको खुल्दुली उठ्ने गर्दछ , एउटा हतास र ठम्याउन नसकिने खालको ऊर्जा | हामी सबमा केही सिक्ने केही भोग्ने, केहि गर्ने इच्छाशक्ति हुदछ र यात्राले यी सब कुरालाई बिल्कुलै सम्भव गराइदिन्छ |
जानी नजानी र चाहिँ नचाहिँ पनि अनेक कुरा सिक्ने अवसर पाउँदछौं र कतिपय मामलामा नयाँ मान्छेहरुसँग भेट्ने मौका पाउँदछौ| बिल्कुलै नयाँ दुनियाँ खडा भैदिन्छ हाम्रो अगाडि | फर्केर हेर्दा, हामीले जीवनमा यात्रा गरेर बिताएका सायदै कुनै पल बेफ्वाकका हुने गर्दछन् ,त्यसैले आफूलाई अनुकूल मिलाएर सक्दो घुमफिर गरौं,कोही घुमफिर गर्न चाहन्छ भने पनि नरोकौं ,बरु मिल्छ भने सक्दो हौसला प्रदान गरौ र आफूले पनि साथ दियौं |
आफ्ना जीवन अनुभवका लागि भएपनि यात्रागर्नका लागि दिल खोलेर वचत गर्ने गरौं र त्यही अनुसार खर्च गरौ | आखिर,अन्त्यमा हामीसँग हुने भनेकै आफ्नो जीवन कहानी हो र विभिन्न अनुभव बिनाका कहानी अधुरो हुने गर्दछ| त्यो मन छुने घडीलाई याद गरौ जब हामी खोला नजिक हुने गर्दछौं, खोलाको आवाजले हामीलाई यसरी तान्ने गर्दछ मानौ कि हामी त्यही पलको बर्षौदेखि प्रतीक्षा गरिरहेका छौं | र, त्यो मनलाई मुग्ध पार्ने हिमालको दार्शनिक दृश्य म कसरी भुल्न सक्छु र ? डाँडाकाँडा,छहरापहरा, कुहुँ-कुहुँ गर्ने कोइली,छङ्छङ् गर्ने खोला,विशाल झरना हेरिरहुँ जस्तो लाग्ने रुखहरु,चिसो हावा र मनभित्र प्रकृतिप्रतिको न्यानो माया |
कहिले त नयाँ परिवेशमा जाँदा विभिन्न प्रकारका चराचुरुङ्गी र पशुपन्छीहरुसँग पनि जम्काभेट हुनेगर्दछ| प्रायजसो त्यस्तो समयमा खुशीको सिमा नै रहँदैन, मन नै चङ्गा भएर उड्ने गर्दछ र कतिपय घडी मा त उल्का डर पनि लाग्ने गर्दछ| यदि केहि जंगली जनावर आफ्ना छेउछाउमा भएको भान भयो भने म सोच्ने गर्दछु “लौ बर्बाद मेरो ज्यानै जाने हो कि क्या हो आज,के पो छ हो त्यहाँ? “
आखिरमा यस्तै कुराले त जिन्दगी जिउनको लायक बनाउँदछ ,आफू मानिस भएकोमा गर्भ हुनेगर्दछ| अब आयो लकडाउनमा घुम्ने कुरा,हो मान्छु यस्तो बेलामा घर बस्नुपर्दछ, बाहिर निस्किन हुँदैन र यसको फाइदा हामी मानिसलाई मात्रै नभएर प्रकृतिलाई पनि छ | विभिन्न पर्यटकहरू र देशका जनजातिहरु गईरहने ठाउँले पनि विश्राम पाएको छ | अब हामीले,लकडाउन खुलेपछि विभिन्न ठाउँमा घुम्न जाने हो भने त्यहाँको सेरोफेरो नै बदलिएको पाउनेछौं |
जीवनको स्वाद यदि केही समय टिकेर चाखिएन भने ओइलाएर जान्छ त्यसैले जागौं र आफ्ना वरिपरिका मनुष्यहरुलाई पनि जगाऔं | सकेसम्म घुमफिर गरौ |
धन्यवाद |