खोजखबर
गोरखा, साउन १९ गते ।
माछीखोलाकी पुमन गुरुङले देब्रे खुट्टा गुमाएकी छिन् । कोठामा चोरी भएको भन्दै घरबेटी फोन गरेपछि उनी काठमाण्डौ जानु पर्ने भयो । सार्वजानिक सवारी साधन नचलेका कारण विभिन्न ठाउँमा गाडी फेर्दे केही दिन अघि उनी काठमाण्डौ पुगिन् । आफ्नो कोठाको सुरक्षा गरेर शुक्रबार साथीको बाइकमा गोरखा फर्कदै गर्दा पुनम दुर्घटनामा परिन् । ‘गाडी नपाएकाले जाँदा फेरी धेरै दुखः पाइछ । आउँदा पनि गाडी पाइनछ । एउटा साथीले म लगिदिन्छु भनेर बाइकमा ल्याइदिएछ,’ आमा आर्नी गुरुङले भनिन्, ‘मुग्लिनमा आएपछि १२ चेक्के ट्रकले हानेर मेरो छोरीको खुट्टा नै च्यापिदिएछ ।’ त्यसपछि उपचारका लागि उनलाई भरतपुर लगियो । त्यहाँ राम्रो उपचार नभएपछि परिवारका सदस्यले उनलाई काठमाण्डौंको बिएनबी अस्पताल पु¥याए । त्यत्ति बेला धेरै ढिला भइसकेको थियो । उनको खुट्टाको उपचार सम्भव भएन । काट्नु पर्ने अबस्था आयो । ‘भरतपुर लगेको धेरै बेरसम्म अस्पतालले हेर्दै हेरेन । बरु पहिले काठमाण्डौं ल्याउन पाएको भए मेरो छोरीको खुट्टा काट्नु नपर्ने रहेछ’ उनले भनिन्, ‘कोरोनाले त मेरो सबै खुसि खोसियो ।’ गुरुङकी जेठी छोरी पुनम डब्लुएफपीको कामका लागि खाद्यन्न कार्यक्रममा कार्यरत छिन् । संस्थाको काम र पढाईलाई समेत एक साथ अघि बढाई रहेकी उनले भाइलाई समेत काठमाण्डौमा राखेर पढाउँदै आएकी छिन् । उनका बुबा छैनन् । आमाले माछाखोलामा थापेको सानो चिया पसलले उनको परिवार चल्छ । ‘मेरो त आड भरोसा नै यही छोरी हो, बुढा पनि छैनन । अब मैले कसरी परिवार पाल्ने?’ उनले प्रश्न गरिन्, ‘उसको जिन्दगी बबार्द भयो अरु सानाको भविष्य पनि अन्धकार भयो ।’ घरको मुख्य कमाई गर्ने व्यक्ति नै अपाङ्ग भएपछि उनको परिवार अहिले पिडामा परेको छ ।
सरकारले लकडाउन खोले पनि लामो दुरीका सवारी साधन अझै सञ्चालनमा ल्याएको छैन । जसका कारण जरुरी कामले हिड्नु पर्ने सर्वसाधारण जोखिम मोलेर हिड्न बाध्य छन् ।