खोजखबर
गोरखा, भदौं ३० गते ।
गोरखाको एक अपाङ्गता भएको परिवारले नयाँ घर पाएको छ । शहिद लखन गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष शरण श्रेष्ठको पहलमा भूकम्प प्रतिरोधी घर निर्माण गरिएको हो ।
सामाजिक सञ्जाल फेसबुक र अन्य विभिन्न व्यक्तिहरुको सहयोगमा १४ लाख ८१ हजार रुपैयाँ संकलन भएको थियो ।
तर १६ लाख ७ सय ४८ रुपैयाँ लागतमा उक्त घर बनेको वडा अध्यक्ष श्रेष्ठले बताए । ‘म वडा अध्यक्ष भएपछि गाउँ जाने क्रममा उहाँहरुको दयनिय अबस्था देखेँ । एकै घरमा ३ जना बाबुनानी पिडिमा सुतिरहेका थिए,’ उनले भने, ‘भूकम्पले भत्काएको घर बनाउन सक्नु भएको रहेनछ । उक्त समस्या मैले फेसबुकमा राखेँ देश विदेशबाट धेरै सहयोगी मनहरुले पैसा पठाउन थाल्नु भयो । ढिलै भएपनि हामीले उहाँको परिवारमा खुसि दिन सफल भयौं ।’ बाँकी दुई लाख वडा अध्यक्ष श्रेष्ठ आफैले उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।
वडा नम्बर ७ को कोटगाउँका धनबहादुर श्रेष्ठका ६ सन्तान मध्ये एक छोरा र दुई छोरीमा पूर्ण रुपमा अपाङ्घता छ । आर्थिक अवस्था अत्यन्त कमजोर भएका श्रेष्ठको घर २०७२ सालकै भूकम्पले भत्काएको थियो । अभियान मार्फत जुटेको सबै रकम बैंक मार्फत घर निर्माण समितिको अगुवाईमा खर्च भएको समेत वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । ‘घर बनाउने निर्णय भएपछि हामीले उहाँहरुकै छिमेकीहरु रहेको एउटा निर्माण समिति बनाऔं,’ उनले भने, ‘जसजसले पैसा पठाउनु भयो सबै बैक मार्फत समितिले नै काम गर्नु भयो । मैले खाली सहजिकरण मात्र गरेको हुँ सबैको साझा अभियानले नै यो घर बनेको हो । ’ घर निर्माणका लागि रणसिंह दल गणका नेपाली सेनाले १० दिनसम्म श्रमदान नै गरेको गरेका थिए ।
नवनिर्मित घर मंगलबार एक कार्यक्रमका वीच गाउँपालिका अध्यक्ष रमेशबाबु थापाले एक कार्यक्रमका वीच घर हस्तान्तरण गरेका छन् ।घर निर्माण समितिका अध्यक्ष जितबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष इन्दिरा तिवारी, प्र मुख प्रशासकिय अधिकृत जिबनबहादुर आले, वडा नम्बर ८ का अध्यक्ष काशिनाथ अम्गाई, घर निर्माणमा सहयोग गर्ने अभियान्ताहरु बिष्णुकुमार श्रेष्ठ, अमृत श्रेष्ठ, उत्तरकुमार श्रेष्ठ, किरण श्रेष्ठ, लगायत राजनीतिक दल, स्थानीयको उपस्थिती थियो । सो अबसरमा बोल्दै गाउँपालिका अध्यक्ष थापाले उक्त परिवारलाई अत्यावस्यक सामाग्री खरिदका लागि गाउँपालिकाबाट १ लाख रकम सहयोग गर्ने घोषणा समेत गरेका छन् ।