सदरमुकाम प्रवेशद्धारमै घण्टौं फस्छन् सवारीसाधन

Share on Your Social Media
  • 130
  •  
  •  
  •  
  •  
  •  
    130
    Shares

खोजखबर
गोरखा, असोज २ गते ।

गोरखा बजार– फिनाम सडकको अबस्था नाजुक छ । गोरखा नगरपालिका वडा नम्बर ४ को ढुङ्गागाढे क्षेत्रमा घण्टौसम्म सवारीसाधन फस्ने गरेको सरोकारवालाले गुनासो गरेका छन् । ‘ढुङ्गागाढेबाट गाडी पास हुनसक्दैन, घण्टौं त्यहि रोकिनुपर्छ,’ यातायात व्यवसायी दिपक बोहोराले भने, ‘अस्ती, चितवनबाट आएको एउटा गाडी बिहान ८ बजे देखि फसेको दिउँसो ३ बजेसम्म पनि निस्कन सकेन । बाटो खतम छ । गाडी खुलेपनि चल्न सक्ने अबस्था छैन ।’

निषेधआज्ञा खुलेसँगै ग्रामिण क्षेत्रमा आवातजावत गर्ने सवारी चाप बढेकाले झनै बढि समस्या थपिएको छ । जिल्लाको दोश्रो ब्यापारिक केन्द्र आरुघाट र उत्तरी गोरखासम्म जाने उक्त सडक मर्मतमा सरोकारवालाहरुले चासो नदिएको धेरैको गुनासो छ । ‘दुई गाडी ग्राभेल हाल्न त वडाले नि सक्छ । नगरपालिकाले गरे हुन्छ, सडक कार्यालय छ तर कसैले गर्दैन’ चालक प्रबिन गुरुङ्गले भने, ‘जनताले जति सुकै दुखः पाउन कसलाई के मतलब ?’ उक्त सडक खराब हुँदा बिरामी लिन एम्बुलेन्स समेत जान नमान्ने गरेको स्थानीयले बताएका छन् ।

गोरखा नगरपालिका–४ ढुङ्गागाढेदेखि फिनाम घुम्तीसम्म करिब साढे ४ किलोमिटर सडक कालोपत्रे हुन सकेको छैन । डा. बाबुराम भट्टराई क्षेत्र नम्बर एकको सांसद रहेका बेला निर्वाचन क्षेत्र पुर्वाधार बिकास कार्यक्रम मार्फत छुट्याइएको २ करोड ५० लाख लागतमा उक्त सडक कालोपत्र गर्ने गरी काष्ठमाण्डप कन्स्ट्रक्सन प्रालीलाई जिम्मा दिइएको थियो । आर्थिक वर्ष २०७४÷०७५ मा ग्राभेल र नाली निर्माण गरेपनि त्यस यता बाँकी काम अघि बढ्न सकेको छैन् । ११ किलो भालुस्वाँरा सडक आयोजना मार्फत गत वर्ष कालोपेत्रको लागि काम अगाडी बढाएपनि स्रोत सुनिश्चित नभएको भन्दै विचैमा छोडिएको थियो ।

लामो समय देखि अलपत्र परेको उक्त सडक गण्डकी प्रदेश सरकारले कालोपत्रे गर्न लागेको पूर्वाधार बिकास कार्यालयका प्रमुख दयाराम अधिकारीले जानकारी दिए । ‘हामीले भदौं २४ गते ठेक्का सम्झौता गरिसकेका छौं, अब छिट्टै त्यो सडक बन्छ,’ उनले भने, ‘प्राविधिक तयारी र व्यवस्थापनको काम गर्न १ महिना जति लाग्ला दशैपछि काम सुरु हुन्छ ।’ अहिले जति समस्या भएपनि ठेकेदार कम्पनीको प्राविधिक रिर्पोट स्वीकृत नभएसम्म मर्मतका लागि आग्रह गर्न नसकिने उनले बताए ।

भ्याट सहित ९ करोड ८६ लाख लागतमा सडक स्तरोन्नती गर्ने जिम्मा बानियाँ निर्माण सेवा मकवानपुरले पाएको छ । ७ मिटर चौडा उक्त सडकमा ५ मिटर पिच गरिने पूर्वाधार बिकास कार्यालय गोरखाले जानकारी दिएको छ ।

गोरखा आरुघाट सडकको अन्य खण्ड पिच भइसक्दा पनि सदरमुकामै रहेको ढुङ्गागाढे–फिनाम घुम्ती खण्ड कालोपत्रे नहुँदा सवारी सञ्चालनमा समस्या भएको छ । त्यहाँका स्थानीयले वर्खामा हिलो र हिउँदोमा धुलोका कारण सास्ती खेप्नु परेको गुनासो गरेका छन् । धुलोका कारण जनजिवन प्रभावित भएको भन्दै उनीहरुले विगतमा धेरै पटक बिरोध समेत प्रर्दशन गरिसकेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *