खोजखबर
गोरखा, असोज ५ गते ।
सरकारले सभा, सम्मेलन, धार्मिक तथा सांस्कृतिक कार्यक्रम र खेलकुद प्रतियोगिता सञ्चालनमा प्रतिबन्ध जारी राखेको छ । लकडाउन खुलेपनि कोरोनाको जोखिमलाई मध्येनजर गर्दै मानिसको बढि भिडभाड हुने क्रियाकलाप नगर्न÷नगराउन आग्रह गरिएको छ । तर गोरखामा भने खुलेयाम फुटबल प्रतियोगिता, गोरु जुधाई लगायतका विभिन्न कार्यक्रमहरु भइरहेका छन् । बारपाक सुलिकोट र आरुघाट गाउँपालिकाको सिमा क्षेत्रमा गोरु जुधाई प्रतियोगिता सकिएको केही दिन नबित्दै गण्डकी गाउँपालिका १ मकैसिंङमा फुटबल प्रतियोगिता भएको छ ।
स्थानीय बिजया भवानी मावि मकैसिंङको परिसरमा शनिवारबाट सुरु भएको खुल्ला फुटबल प्रतियोगितामा जिल्लाका विभिन्न स्थानका १३ टिमको सहभागीता रहेको छ । प्रतियोगिता हेर्नका लागि टाढाटाढाबाट दर्शक मकैसिङ पुगेका थिए । ‘शनिवार म वडा गइन केटाहरुले फुटबल खेलाएछन,’ वडा अध्यक्ष गिरबहादुर गुरुङले भने, ‘मैले आइतबार प्रहरीलाई फोन गरेर रोक्न भने अनि, उहाँहरुले गएर प्रतियोगिता स्थगित गर्न लगाउनु भयो ।’ औपचारीक रुपमा कार्यक्रम नगरी केही युवाहरुले फोनमा सम्र्पक गरी समूह बनाएर प्रतियोगिता आयोजना गरेकाले वडा कार्यालयलाई केही थाह नभएको उनले दाबी गरेका छन् । केही दिन अघि पनि उक्त गाउँपालिकाको वडा नम्बर २ ताङ्लिचोक स्थित पातिस्वाँरा खेलमैदानमा पनि फुटबल प्रतियोगिता भएको स्थानीयले बताएका छन् ।
कोरोना महामारीको बेवास्ता गर्दै उल्लेख्य दर्शकहरुको उपस्थितीमा आरुघाट र बारपाक सुलिकोट गाउँपालिकाको सिमाक्षेत्रमा गोरु जुधाई कार्यक्रम सम्पन्न भएको छ । माघे संक्रान्तीका दिन बगुवामा प्रतिस्पर्धाका लागि ल्याउने गोरु अशोज १ गते छान्ने गरिन्छ । परम्परा देखि नै त्यहाँका स्थानीयले अशोज १ गते गोरु जुधाएर स्थानीय बिजेता छनोट गर्र्नेे गर्छन । बिजेता गोरुलाई थप स्याहारसुसार गरी सो क्षेत्रको प्रतिनिधत्व गराउँदै माघेसंक्रान्तीको दिन बगुवा, आरुघाट लगायतका स्थानमा प्रतिस्पर्धा गराउन लैजाने गरिन्छ ।
यी त प्रतिनिधिमुलक घटना मात्र हुन जिल्लाका विभिन्न ठाउँमा धार्मिक, साँस्कृतिक तथा खेलकुदका कार्यक्रमहरु भइरहेका छन् । तर नियमन निकाय प्रशासन बेखबर छ । ‘हामीलाई कार्यक्रम भएको बारे केही जानकारी छैन्,’ सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले भनिन्, ‘कहाँकहाँ के भएको रहेछ म बुझ्छु ।’
सरकारले अनुमती नदिएका कारण लामो सयमदेखि नेपाली राष्ट्रिय खेलकुद टोलीहरुको बन्द प्रशिक्षण समेत सुरु हुन सकेको छैन । केही दिन अघि ललितपूरको रथ तान्ने कार्यक्रम पनि प्रहरीले रोकेको थियो । तर जिल्लामा भने खुलेयाम विभिन्न गतिविधि भइरहेका छन ।
यसरी धेरै मानिस भेला भएर खुलेयाम सरकारले प्रतिबन्ध लगाएका क्रियाकलाप गरिरहदा गोरखाको प्रशासन बेखबर हुनाले कोरोनाको जोखिम झनै बढाएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । चाडपर्व नजिकिदै गर्दा विभिन्न ठाउँमा खेलकुद एवं सांस्कृतिक कार्यक्रमहरु आयोजना हुनसक्ने भएकाले प्रशासन चनाखो हुनुपर्ने उनीहरुको भनाई छ । त्यस्ता कार्यक्रमहरुमा टाढाटाढाबाट गएका सहभागी र दर्शकहरुका कारण समुदाय स्तरमा तिब्र रुपले कोरोना संक्रमण फैलन सक्ने बिज्ञहरुको आशंका छ । उक्त कार्य रोक्नका लागि स्थानीय तहले पनि समन्वयात्मक भूमिका खेल्नु पर्ने देखिन्छ ।