ग्राहक नआएपछि गोरखाका होटल बन्द हुने क्रम बढ्दो

Share on Your Social Media
  • 325
  •  
  •  
  •  
  •  
  •  
    325
    Shares

खोजखबर
गोरखा, असोज ६ गते ।

ग्राहक नभएपछि गोरखाका धमाधम होटल तथा रेस्टुरेन्ट बन्द भइरहेका छन् । कतिपयले महगों भाडा तिर्न नसकेर छेउछाउमा सारेको देखिन्छ ।

‘मैले १५ वर्ष देखि हरमटारीमा गरेको अन्नपुर्ण होटल छोडेँ,’ सञ्चालक होमनाथ सापकोटाले भने, ‘लकडाउन भएको पहिले महिना जसोतसो भाडा तिरेँ । त्यसपछि सकिएन अनि सामान पोको बनाएर आफ्नै घरमा आएर बसेको छु ।’ करिब २५ लाख लगानीमा सञ्चालन भएको होटलबाट मासिक ५० हजार भन्दा बढि आम्दानी हुने गरेको उनले बताए । होटल बन्द भएसँगै परिवारमा आर्थिक संकट सिर्जना भएको छ । ‘यत्रो समय गरेको पेशा छोड्नु पर्ने अवस्था आयो । सामानमा गरिएको लगानीमा पनि यसै खेर गयो,’ उनले भने,‘अब केही नयाँ गर्न सकिन्छ कि सोचिरहेको छु ।’

होटल संघ गोरखामा दर्ता भएका १९३ मध्ये सदमुकाममा केही ठूला होटल बाहेक अरु सबै अहिले बन्द अबस्था छन् । ‘अहिलेसम्मको जानकारी अनुसार २५÷३० प्रतिशत होटल बन्दै भइसके तीनीहरु अब सञ्चालनमा आउन सक्ने अबस्था देखिदैन,’ होटल संघ गोरखाका अध्यक्ष सत्यमान श्रेष्ठले भने, ‘अब हामी छिट्टै तथ्याङ्क संकलन गरी होटलहरुको अबस्था सार्वजानिक गर्ने तयारीमा छौं ।’ होटलहरु एकपछि अर्को गरी बन्द हुँदा पनि संघले आफ्ना सदस्यहरुको संरक्षण गर्न नसकेको व्यसायीहरुले आरोप लगाएका छन् । बैकको कर्जा, घर भाडा लगायतका कुराहरुमा संघले सहजिकरण गर्न सक्ने उनीहरुको भनाई छ ।

जिल्लाका अधिकाशं होटलले आधा भन्दा बढि कर्मचारीलाई बेतलबी बिदा दिएको बताएका छन् । काममा बोलाइएका आधा कर्मचारीलाई पनि केही मात्र पारिश्रमिक दिएर राखिएको अबस्था छ । ‘हाम्रो होटलमा १९ जना स्टाफ थिए, मुस्किलले ९ जनालाई आधा तलब दिएर कन्ट्याक्टमा राखेको छु,’ होटल गोरखा प्यालेसका सञ्चालक नीधि तिमिल्सीनाले भने, ‘अरुलाई सरि भनेर घर पठाउन बाध्य भइयो ।’ जिल्ला सरमुकाममा रहेको बिसौनी र सत्यम होटलमा क्वारेन्टिन पनि राखिएको थियो । बिसौनीमा भने नियमित ग्राहक आउन थालेपछि क्वारेन्टिन हटाइएको होटलका प्रबन्धक शंकरराज पाण्डेले जानकारी दिए ।

उत्तरीको गोरखाको मनास्लु पदमार्गमा पर्ने १३० वटा होटल पनि अहिले बन्द छन् । मनकामना, भच्चेक, पालुङ्टार लगायतका ठाउँमा रहेका होटल तथा रेस्टुरेन्ट लकडाउन खुलेपनि सञ्चालनमा आउन नसकेको सरोकारवालाहरुले बताएका छन् । मनकामना क्षेत्रमा आवागमनमा लगाइएको प्रतिबन्ध अहिलेसम्म फुकुवा भएको छैन । कोरोनाकै कारण बाह्य पर्यटक नआउँदा मनास्लु पदमार्ग शुनसान छ ।

खुलेका होटल रेस्टुरेन्टमा पनि ग्राहक नआएका सञ्चालकहरुको गुनासो छ । कोरोनाको कारण पर्यटकीय क्षेत्रहरुमा आवागमन शुन्य भएपछि करोडैंको लगानी धराशायी अबस्थामा पुगेको हो । यस्तै अबस्था रहे व्यवसाय छोडेर हिड्नुको बिकल्प नभएको व्यवसायीहरु बताउँछन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *