छ महिनापछि भयो शिक्षक र विद्यार्थी वीच पुर्नमिलन

Share on Your Social Media
  • 159
  •  
  •  
  •  
  •  
  •  
    159
    Shares

खोजखबर
गोरखा, असोज १३ गते ।

पालुङटारको भवानी माविका विद्यार्थी ६ महिनापछि आइतबार विद्यालय पुगेँ । चैत ६ गते वार्षिक परीक्षा सकिएपछि घर गएका विद्यार्थी र शिक्षकहरु लामो समयपछि भेट हुँदा उनीहरु निकै खुसी देखिन्थेँ ।
‘हामी त विद्यालय गइरहेका थियौं । तर विद्यार्थी भाइबहिनीहरु आएका थिएनन्,’ विद्यालयका प्रधानाध्यपक ओजराज गिरीले भने, ‘झण्डै सात महिनापछि क्लास रुममा शिक्षक र विद्यार्थी वीच भेट भयो । भाइबहिनीहरु निकै खुसि भएका छन् ।’ गत चैत ६ गते वार्षिक परीक्षा सकिएपछि बन्द भएको उक्त विद्यालय सिकाई केन्द्रको रुपमा आइतबारबाट सञ्चालनमा आएको हो । धेरै विद्यार्थी रहेको उक्त विद्यालयले आलोपालोमा पढाई रहेका छन् । ‘अनुगमन गर्दा कोही विद्यार्थीको घरमा रेडियो छैन, कतिपयको घरमा राम्रो मोबाइल छैन, अधिकाशंको घरमा टिभी पनि भेटिएन,’ प्रअ गिरीले भने,‘त्यसैले संशोधित पाठ्क्रमलाई आधार मानि आलोपालोमा विद्यार्थी बोलाएर कोर्ष अघि बढाउने लागेका हौं ।’ रेडियो, टेलिभिजन र अन्य भर्चुअल विधिबाट गरिएको अध्ययन प्रभावकारी नभएको शिक्षकहरुले बताएका छन । जसअनुरुप पालुङ्टार नगरपालिकाले स्वास्थ्य र सुरक्षाको मापदण्ड पूर्ण रुपले पालना गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । उक्त क्षेत्रमा कार्यरत सबै विद्यालयका प्रधानाध्यापक र सरोकारवालाहरु वीचको बैठकले शैक्षिक गतिवधिलाई चलायमान बनाउने निर्णय गरेको पालुङटार नगरपालिकाले जनाएको छ । ‘अब प्रमुख सिकाई केन्द्र विद्यालयलाई नै बनाउने हाम्रो सोच हो,’ नगरप्रमुख दिपकबाबु कंडेलले भने, ‘तर अहिले नै पूर्ण रुपले कक्षा सञ्चालन भने हुनेछैनन् ।’
सदरमुकाम र शहरी क्षेत्र बाहेक जिल्लाका अधिकाशं विद्यालयले आवश्यक सर्तकता अपनाएर कक्षा सञ्चालन सुरु गरेका छन् । ‘हामीले धार्चे बाहिर घर भएका ४२ जना शिक्षकलाई बोलाइ क्वारेन्टिनमा राखेर पिसिआर गरेयौं । सबैको रिर्पोट नेगेटिभ आयो,’ धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले भने, ‘आइतबारबाट धार्चेका स्कूलहरुमा पढाई सुरु भएको छ ।’ गाउँपालिकाले विद्यालय खोल्न निर्देशन दिएपनि मास्क, स्यानिटाइजर, थर्मलगन लगायतका सामान उपलब्ध नगराएकाले समस्या भएको विद्यालयहरुले जनाएका छन् । ‘५ सय थान मास्क र केही स्यानिटाइजर किनेर ल्याएको छु,’ प्रभात किरण मावि लापुका प्रधानाध्यापक जितबहादुर गुरुङले भने, ‘थर्मल गन भने गाउँपालिकासँग माग गरेका छौं ।’ सिरानचोक गाउँपालिका २ को आहाल भञ्ज्याङ माविले पनि गत साउन देखि नै आलोपालो गरी विद्यालय सञ्चालन गरिरहेको प्रधानाध्यापक केसरसिं बस्नेतले जानकारी दिए । असारको २५ गते देखि पढाई सुरु भएको आरुघाट गाउँपालिका २ को भवानी मावि मान्बुमा साउन १३ गते देखि पठनपाठन स्थगित गरिएको थियो । स्थानीय सरोकारवाको बैठकले केही दिनका लागि विद्यालय बन्द गरेपनि पुनः अशोज ४ गतेबाट नियमित कक्षा सञ्चालन भएको छ । विद्यार्थीलाई तिन सत्रमा विभाजन गरी स्वास्थ्य र सावधानीका मापदण्डका साथ पढाइएको शिक्षक ओमप्रकास पोखरेलले जानकारी दिए ।
‘हाम्रा विद्यार्थी प्रविधिको पहुँचमा छैनन । त्यसैले अब विद्यालय मै पढाउने गरी तयारी गरिरहेका छौं,’ बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले भने, ‘विद्यालयहरुमा रहेको क्वारेन्टिन सबै हटाइएको अबस्था छ ।’ बारपाक सुलिकोटका कतिपय विद्यालयहरुले पठनपाठन सुरु गरिसेका छन् । गोरखा नगरपालिकाले पनि सिकाईकेन्द्रका रुपमा विद्यालय सञ्चालनको तयारी गरिरहेको छ । सोको लागि कार्ययोजना निर्माण र विद्यार्थी वर्गिकरण सम्पन्न भएको शिक्षा शाखा प्रमुख बाबुराम बरालले जानकारी दिए । ‘सबै स्कूलले आफ्नो विद्यार्थीको अबस्था उल्लेख गरी रिर्पोट हामीलाई बुझाइसकेका छन्, कार्ययोजना पनि निर्माण भइसकेको छ,’ उनले भने, ‘एक÷दुई दिनमा त्यसको विश्लेषण सकिन्छ । अनि कार्यपालिका बैठकले आवश्यक निर्णय गर्छ ।’ भीमसेन, शहिद लखन, गण्डकी, अजिरकोट, चुमनुब्री लगायतका अधिकाशं स्थानीय तहले सरकारले बनाएको नयाँ निर्देशिका र शंसोधित पाठ्क्रम अनुसार विभिन्न विधिबाट पठनपाठन गरिरहेका छन् ।
विद्यालयहरुले घुम्ती कक्षा सञ्चालन गर्ने, रेडियो, टेलिभिजन र अन्य भर्चुअल माध्यमबाट पढाइरहेको बताएका छन् । ग्रामिण भेगमा भने प्रविधि मार्फत पढाउन समस्या भएकाले विद्यालयमै सिकाई केन्द्र सञ्चालन गर्नुपर्ने बाध्यता सिर्जना भएको हो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *